राजनीति

प्रधानमन्त्री ओलीले लगाएको आरोपको सभामुख सापकोटाले गरे यस्तो कडा प्रतिवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते २१:०४
प्रधानमन्त्री ओलीले लगाएको आरोपको सभामुख सापकोटाले गरे यस्तो कडा प्रतिवाद (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र संसदका विषयमा गरेको टिप्पणीको कडा प्रतिवाद गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको नव निर्वाचित नेतृत्वको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले संविधान र मुलुकको राष्ट्रियको रक्षार्थ अघि बढ्न खोज्दा घेराबन्दी भएको बताउनुभयो । प्रतिनिधिसभा र यसको नेतृत्वमाथि अनेक खालका टिप्पणी भइरहेको भन्दै सभामुख सापकोटाले आपत्ति जनाउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्च र सर्वदलीय बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता सभामुख सापकोटाले रोकेर असंवैधानिक काम गरेको आरोप लगाएपछि सभामुख सापकोटाको प्रतिक्रिया आएको हो ।

प्रधानमन्त्री ओली र एमसीसीको नामै नलिई सभामुख सापकोटाले कसैको दबाबमा काम नगर्ने प्रष्ट पार्नुभयो । त्यसका लागि आफू जुनसुकै चुनौती सामना गर्न र त्याग गर्न तयार रहेको भनेर प्रधानमन्त्रीलाई चुनौती दिनुभयो ।

प्रधानमन्त्रीसँग पेचिलो संघर्ष चलिरहेको संकेत गर्दै सभामुख सापकोटाले यो संघर्ष लोकतान्त्रिक मूल्य मान्यताका लागि भएको बताउनुभयो ।

सभामुख सापकोटाले सभामुख तटस्थ बसेर निर्णय गरोस् भन्ने चाहना राख्नेभन्दा पनि आफ्नो पक्षमा काम गरोस् भन्नेहरू रहेको भन्दै असहमति जनाउनुभयो । सभामुख सापकोटाको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्रीले दबाब दिए पनि एमसीसी संसदमा सहज पेश नहुने संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्