Main News

सामाजिक सुरक्षा कोषको अहिलेसम्मको आम्दानी र खर्च विवरण पेश गर्न संमितिको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते १९:००
सामाजिक सुरक्षा कोषको अहिलेसम्मको आम्दानी र खर्च विवरण पेश गर्न संमितिको निर्देशन (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरोकारवालासहित बसेको समितिको आजको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको हो ।

यस्तै समितिले सरकारी, गैरसरकारी तथा विभिन्न संघसंस्था र कलकारखानाबाट सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुको संख्याको विवरण बुझाउन निर्देशन दिएको छ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले श्रमिकहरु सरकारले अपेक्षा गरे अनुसार सामाजिक सुरक्षा कोषको दायरामा नआएको बताउनुभयो ।

औपचारिक क्षेत्रका श्रमिकको पनि सहभागिता सोचे अनुसार नभएको भन्दै उहाँले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन चुनौतिपूर्ण भएको टिप्पणी गर्नुभयो । रोजगारदाताहरुले २० प्रतिशत योगदान गर्न तयार नभएका कारण समस्या भएको पनि बताउनुभयो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । योजनाको स्किमको दायरा बढाएर आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरुले सरकारको सामाजिक सुरक्षा योजनाको बारेमा बुझाउन नसकेको बताएका थिए । सामाजिक सुरक्षा कोषको दायरामा नआउने कम्पनीहरुलाई कारबाही गरिनुपर्ने पनि सांसदहरुले बताए । सामाजिक सुरक्षा कोष अन्तर्गगत विभिन्न शीर्षकमा ऋणको व्यवस्था गरे यसप्रति आकर्षण बढ्ने सांसदहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *