Main News

सुदूरपश्चिममा आफ्नै दलको नेतृत्वमा सरकार बनाउन ओली समूहको कसरत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते १८:३४
सुदूरपश्चिममा आफ्नै दलको नेतृत्वमा सरकार बनाउन ओली समूहको कसरत (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा पनि राजनीतिक सरगर्मी बढेको छ । माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेको नेपाल–खनाल समूह पनि सहभागी छ । तर एमालेको ओली समूहले भने आफ्नै दलको नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेको छ । नेपाल–खनाल समूहको साथ रहेसम्म प्रदेशमा नयाँ सरकार बन्ने सम्भावना छैन ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले ठुलो दल भए पनि उसको समर्थनमा माओवादी केन्द्रको सरकार छ । विगतमा वाम गठबन्धन बन्दा सुदूरपश्चिम माओवादीको भागमा परेको थियो । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि यो प्रदेशमा पनि राजनीतिक कसरत भइरहेको छ ।

५३ सदस्यीय प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र जसपा नेपालका दुई सांसद छन् । एमालेका २५ मध्ये नेपाल खनाल पक्षका २० सांसद छन् । ओली समुहले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेपनि नेपाल समूह अहिलेकै सरकारको पक्षमा छ ।

सुदूरपश्चिममा एमालेको नेपाल खनाल समूह पनि नयाँ सरकारका लागि तयार भए जनता समाजवादी पार्टी निर्णायक हुनेछ । माओवादी र काग्रेसका सांसद जोड्दा एमाले जति नै पुग्छन् ।

यो अवस्थामा सरकार जोगाउन र नयाँ सरकार बनाउन जसपाका सांसद नै निर्णायक हुनेछन् । तर नयाँ सरकारका लागि प्रमुख प्रतिपक्षी कांग्रेस पनि अहिलेसम्म इच्छुक देखिएको छैन । उसले यसका लागि केन्द्रको मुख ताकिरहेको छ ।

अन्य समय धेरै चर्चामा नआउने जसपाका सांसद अहिले भने तानातानमा छन् । जसपा संसदिय दलले सरकारमा जाने या समर्थनका लागी कसैसँग छलफल नभएको जनाएको छ । केन्द्रमा पार्टीले उठाएका मुद्धा अनुसार नै अघि बढ्ने जसपा नेता बताउँछन् ।

संघीय सरकार हेरफेर र राजनीतिक समिकरणमा ब्यापक फेरबदल आएसंगै त्यसको असर सुदूरपश्चिम प्रदेशमा पनि आईपुगेको छ । तर एमालेभित्र नेपाल खनाल समूहको बलियो उपस्थिति रहेका कारण माओवादी केन्द्रका मुख्यमन्त्रीलाई तत्कालै ठुलो खतरा भने देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *