सांसद पदबाट बर्खास्त थापाले फेरि गृहमन्त्री नियुक्त, आजै सपथ ग्रहण

५ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा आजै पुनर्नियुक्त हुनुभएको छ ।
थापाले आजै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिनु भएको छ । पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि थापाको राष्ट्रिय सभा(सदस्य पद खारेज भएको हो।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफू निर्वाचित पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप पद खारेज गर्न माओवादी केन्द्रले सूचना गरेपछि संघीय संसदले थापालाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाएको हो।
योसँगै मन्त्री पद पनि स्वतः समाप्त हुने प्रावधान छ। तर सांसद नरहे पनि प्रधानमन्त्रीले ६ महिनासम्मका लागि मन्त्री पदमा भने पुनः नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था छ।
यही व्यवस्था बमोजिम प्रधानमन्त्री ओलीले थापालाई फेरि गृहमन्त्री पदमा पुनःनियुक्ति दिनु भएको हो ।
प्रतिक्रिया