Main News

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

हिमालय टिभी
२०७८ वैशाख ५ गते १६:३१
प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

५ वैशाख २०७८ विराटनगर । प्रदेश १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राइले सभालाई सम्बोधन गर्ने कार्यसूची थियो । प्र्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाउने अर्को कार्यसूची थियो ।

सभामुख भण्डारीले प्रदेशसभा सञ्चालन गर्न तथा कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सदस्यले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटकपटक आग्रह गर्दा पनि सदस्यले आसनग्रहण नगरेपछि प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो ।

बैठक अन्त्य भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले सदनलाई पुनः सञ्चालन गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपासँग छलफल गर्दा पनि बैठक पुनः सञ्चालन हुने सम्भावना नदेखिएकाले आजै प्रदेश सरकारको मन्त्रिपरिषद्बाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको र सोही अनुसार अधिवेशन अन्त्य भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *