भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

५ वैशाख २०७८ काठमाडौं । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ ।
यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ ।
अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो ।
उहाँले यस वर्ष कोरोना सङ्क्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन पनि सबैलाई आग्रह गर्नुभयो ।
वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया