राजनीति

कर्णालीका मुख्यमन्त्री जोगाउँदै नेपाल-खनाल समूहले ओलीलाई दिए यस्तो सन्देश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते २०:२०
कर्णालीका मुख्यमन्त्री जोगाउँदै नेपाल-खनाल समूहले ओलीलाई दिए यस्तो सन्देश (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७७ काठमाडौं । नेकपा एमालेका सांसदले फ्लोर क्रस गरेपछि महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकार जोगिएको छ । ह्वीप उल्लंघन गरेर मतदान गर्ने चारजना एमालेका सांसद नेपाल खनाल समूहका हुन् । कर्णाली प्रदेशबाट नेपाल–खनाल समूहले आफूसँग नमिलि कुनै पनि निर्णय कार्यान्वयन संभव छैन भन्ने सन्देश अध्यक्ष ओलीलाई दिएको छ ।

तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच भागबण्डा हुँदा कर्णाली प्रदेशको नेतृत्व माओ‌वादीले पाएको थियो । पार्टी एकता भएपछि नेकपाको दुई तिहाइ बहुमतसहित महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री चलाउनुभयो । तर यो बीचमा पनि शाहीलाई हटाउन अनेक खेल भए ।

तत्कालिन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अन्तरसंघर्ष चलिरहँदा प्रदेशमा नेता यमलाल कंडेलको नेतृत्वमा मुख्यमन्त्री शाहिविरुद्ध पार्टी भित्रै अविश्वास प्रस्ताव पनि हालियो । तर त्यो सफल भएन । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि मुख्यमन्त्री हटाउने खेल फेरि शुरु भयो र तत्कालका लागि पटाक्षेप पनि ।

प्रदेशमा ओली समूहको नेतृत्व नेता कंडेल र नेपाल खनाल समूहको नेतृत्व प्रकाश ज्वालाले गर्नुभएको छ । प्रदेशसभामा एमालेका २० सांसद मध्ये नेपाल खनाल समूहमा १० जना छन् ।

कंडेल समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिँएको निर्णय गर्दा पनि नेपाल खनाल समूहले असहमति जनाएको थियो । पछि एमाले संस्थापनले पार्टीका मन्त्रीलाई पनि फिर्ता बोलायो । ज्वालासहितका मन्त्री राजीनामा दिएर फिर्ता भए । तर त्यसपछि नेपाल खनाल समूहका सांसदलाई विश्वासमा लिन ओली समूहले कुनै प्रयास गरेन ।

आफुले भनेपछि मानिहाल्छन भन्ने मानसिकताबाट हतार हतार नयाँ सरकार बनाउने तयारी गरियो । क‌डेललाई भावि मुख्यमन्त्रीका रुपमा अघि सारियो । तर ओली समूहसँग रुष्ट नेपाल–खनाल समूह भने भित्रभित्रै मुख्यमन्त्रीसँग मिलेको कंडेलले पत्तो पाउनु भएन । जसको परिणाम ज्वालासहितका चारजना साँसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद बचाएका छन् ।

यसो गर्दा आफ्नै पद धरापमा पर्छ भन्ने थाहा हुँदाहुँदै पनि किन उनीहरु अघि बढे भन्ने प्रश्न अहिले जवर्जस्त रुपमा उठेको छ । यसका लागि नेकपा एमालेभित्रको अन्तरसंघर्ष मुख्य जिम्मेवार छ । एमालेलाई सर्वोच्च अदालतले पुरानै अवस्थामा ब्युँताएकाले त्यसै अनुसार अघि बढ्नुपर्ने नेपाल खनाल पक्षको माग छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल खनाल समूहलाई पेलेरै अघि बढिरहनु भएको छ ।

प्रतिक्रिया स्वरुप नेपाल खनाल पक्षले देशभर नै समानान्तर कमिटी बनाइरहेको छ । अर्थात उसले एमाले भित्रै छुट्टै पार्टीको अभ्यास गरिरहेको छ । कर्णाली प्रदेशबाट नेपाल–खनाल पक्षले आफूहरुसँग सहमति नगर्ने हो भने सबैतिर सरकार ढाल्ने हैसियत छ है भन्ने सन्देश अध्यक्ष ओलीलाई दिएको छ ।

अब फ्लोर क्रस गर्ने सांसदलाई कारवाही गर्न ओलीलाई सहज छैन । किनकी झण्डै बहुमत सांसद नेपाल–खनाल पक्षमा छन् । त्यसवाहेक पनि नेपाल–खनाल समूहले साथ नदिए सुरक्षित भनिएका बागमति र लुम्बिनी र प्रदेश एकको सरकार पनि ढल्नेछन् ।

गण्डकी सरकार यसै पनि अल्पमतमा परिसकेको छ । नेपाल खनाल समूहको साथ नहुँदा संघीय सरकार पनि अप्ठेरोमा पर्नेछ । अब हेर्नुछ अध्यक्ष ओली फेरि पनि नेपाल–खनाल समूहलाई पेलेरै अघि बढ्न खोज्नुहुन्छ कि सहमतिको प्रयासमा लाग्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्