Main News

एमाले सांसदले फ्लोर क्रस गर्दा जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते १७:१९
एमाले सांसदले फ्लोर क्रस गर्दा जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ सुर्खेत । नेकपा एमालेका चार जना सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले ढाल्न खोजेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार एमालेको नेपाल–खनाल पक्षले विश्वासको मत दिएर जोगाइदिएको हो ।

आज प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत जित्नुभयो । कुल ३७ मत परेकोमा शाहीलाई २२ जनाले साथ दिए ।

एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई भोट दिनुभयो । प्रदेश सभामा माओवादी केन्द्रका १२ सांसद छन् र मुख्यमन्त्री शाहीलाई २० मत आवश्यक थियो ।

नेपाली कांग्रेसले निर्णय गरेरै शाहीलाई ६ भोट दियो भने एमालेका चार जना सांसद फ्लोर क्रस गरेर पक्षमा उभिए । एक सिट रहेको राप्रपा तटस्थ बस्यो । सभामुख बाहेक १९ सांसद रहेको एमालेले प्रस्तावको विपक्षमा मत हाल्न ह्वीप लगाएको थियो ।

केही महिनापछि कांग्रेससित मिलेर सरकार गठन गर्ने गरी सहमति भएको बताइएको छ । र, त्यो सरकारमा ह्वीप उल्लंघन गर्ने एमाले सांसदहरु पनि मन्त्री बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *