भेरी अस्पतालमा भर्ना भएका अधिकांश सिकिस्त कोरोना संक्रमित भारतबाट फर्किएका नेपाली (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ बाँके । नेपालगञ्जको भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश सिकिस्त बिरामी भारतबाट फर्किएका नेपाली छन् ।
उपचार कै क्रममा आज बिहान एक जना ३१ वर्षीय युवकको मृत्यु भएको छ । ति युवक एक हप्ता अगाडि भारतबाट आएका थिए । स्वास फेर्न गाह्रो भएपछि चैत ३१ गते परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
भेरी अस्पतालमा ६८ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशतभन्दा बढी सिकिस्त छन । सिकिस्त अवस्थामा रहेका अधिकांश बिरामीको ट्राभल हिस्ट्री भारत देखिएको छ ।
हाल बाँकेमा २ सय ८४ जना संक्रमित छन् । स्वास्थ्य सम्बन्धी समस्या भएर अस्पताल पुग्ने बिरामीको स्वाब परीक्षण गर्दा ५० देखि ६० प्रतिशतसम्ममा संक्रमण देखिने गरेको छ ।
एकै परिवारका ४(५ जनासम्ममा संक्रमण देखिएको छ । जिल्लामा संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिएको छ । जीन सिक्वेन्सिङका लागि सामग्री नभएकाले कुन भेरियन्टले संक्रमण बढाइ रहेको छ भन्ने थाहा हुन सकेको छैन ।
संक्रमितको संख्या तिब्र रुपमा बढे पछि हिजोदेखि नाकामा कडाई गरिएको छ । विद्यालय आइतबारदेखि बन्द गर्ने निर्णय पनि गरिएको छ ।
प्रतिक्रिया