आज साँझ पनि उपत्यकासहित देशका अधिकांश स्थानमा हुरीबतास चल्ने अनुमान

३ वैशाख २०७८ काठमाडौं । आज साँझ पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हुरीबतास चल्ने अनुमान गरिएको छ ।
अबका केही दिन साँझ पख हुरीबतास चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हावा हुरी चलेपनि पानी भने हल्का मात्रै पर्नेछ । प्रि–मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ ।
गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको थियो । बागमती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि(मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताउनुभयो । नेपालमा गएको मार्च महिनादेखि नै प्रि(मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन ।
अबको केही दिन भने प्रि(मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तर, प्रिमनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने देखिएको छैन ।
गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ ।
तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ । चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रतिक्रिया