Main News

कोरोना संक्रमणबाट एकैदिन १३ जनाको मृत्यु, ४९६ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ चैत ३० गते १७:०७
कोरोना संक्रमणबाट एकैदिन १३ जनाको मृत्यु, ४९६ जना संक्रमित थपिए

३० चैत २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्यु ह्वात्तै बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । ति मध्ये आठ जनाको गत २४ घण्टाभित्र मृत्यु भएको हो । कोरोना संक्रमणबाट बुटवलमा मात्रै आज विहान ३ जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा प्यूठानको स्वर्गद्वारीका ४३ वर्षीय पुरुष, रुपन्देहीको तिलोत्तमाकी ७१ वर्षीया महिला र अर्घाखाँची मालारानी गाउँपालिकाकी ७९ वर्षीया महिलाको मृत्यु भएको छ ।

पोखरामा तनहुँ र कास्कीका एकएक पुरुषको आज मृत्यु भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुष र पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु मात्रै नभइ देशभर संक्रमण पनि बढेको छ ।

पछिल्लो पटक ४ हजार ३ सय ७८ नमुना पीसीआर परीक्षण गर्दा ४ सय ९६ संक्रमित भेटिएका छन् । यो संख्या तीन महिना यताकै उच्च हो । थपिएका संक्रमित मध्ये काठमाडौंमा सबैभन्दा धेरै १ सय ५९ जना छन् ।

ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५ र कास्कीमा २३ जना नयाँ संक्रमित भेटिएका छन् । नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ र मृतकको संख्या ३ हजार ५३ पुगेको छ । थप १ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *