Main News

कोरोना जोखिम देखाएर विद्यालय बन्द नगर्न सरोकारवाला संस्थाहरुको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १६:३५
कोरोना जोखिम देखाएर विद्यालय बन्द नगर्न सरोकारवाला संस्थाहरुको सुझाव (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । शिक्षा क्षेत्रका सरोकारवालाले कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आयोजना गरेको छलफलमा उनीहरुले जोखिम देखाएर देशभरका विद्यालय एकसाथ बन्द गर्न नहुने बताएका हुन् ।

उनीहरुले विद्यालय बारेको निर्णय अधिकार स्थानीय सरकारलाई दिन पनि सुझाव दिएका छन् । छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा कोभिड संक्रमणको जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यवहारिक नहुने बताउनुभयो ।

एन प्याब्सनका महासचिव सुवास न्यौपानेले हल्लाको भरमा विद्यालय बन्द गर्न नहुने बताउनुभयो । जस्तोसुकै प्राकृतिक प्रकोपको अवस्थामा पनि बालबालिका शिक्षण सिकाइबाट बञ्चित हुन नहुने उहाँको धारणा छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्णबहादुर थापाले विद्यालय बन्द गर्ने हो भने बालबालिकाको सिकाई र सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकर प्रसाद भण्डारीले विद्यालय बन्द गर्ने वा नगर्ने अधिकार विकेन्द्रीकरण हुँदा अनुगमनका लागि जिल्लास्तरमा समन्वयात्मक निकाय निर्माण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले केन्द्रीकृत ढङ्गले सबै शिक्षणसंस्था एकसाथ बन्द गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । दीर्घकालिन र अल्पकालिन ढङ्गले रणनीति निर्माण गर्न छलफलबाट आएका विषयलाई लागू गर्न पनि सुझाव दिनुभयो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द गर्ने भन्दापनि स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउनुपर्ने बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम थपलियाले भने छलफलमा उठेका विषय र सुझावलाई निर्णय गर्दा ध्यान दिइने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *