Main News

हिमाल सफाइ अभियानमा नेपाली सेना

हिमालय टिभी
२०७७ चैत ३० गते १०:५७
हिमाल सफाइ अभियानमा नेपाली सेना

३० चैत २०७७ काठमाडौं । नेपाली सेनाको नेतृत्वमा आजदेखि सफा हिमाल अभियान शुरू हुँदैछ ।

अभियानको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर शुभारम्भ गर्ने कार्यक्रम छ । नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरेर ६ वटा हिमाल सफाइ गर्दैछ ।

दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिनुभयो ।

६ वटा हिमालको बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सहायक रथी खड्काको भनाइ छ । सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्डसहित सम्बन्धीत गाउँपालिका र नीजि क्षेत्रको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।

आजदेखि शुरू हुने अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ । अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ ।

हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सन् २०१९ मा सगरमाथा सफाइ अभियान सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *