Main News

प्रदेश २ मा चार जना माओवादी केन्द्रका सांसदको पद खारेज हुँदै

हिमालय टिभी
२०७७ चैत ३० गते १०:४६
प्रदेश २ मा चार जना माओवादी केन्द्रका सांसदको पद खारेज हुँदै

३० चैत २०७७ धनुषा । प्रदेश २ को प्रदेशसभामा माओवादी केन्द्रका चार जना सदस्यको सांसद पद आज खारेज हुँदैछ ।

माओवादी केन्द्रले कारबाही गरेका चार जना सांसदलाई पदबाट हटाइएको सूचना आज बस्ने प्रदेश २ को सभामा पेश गरिँदैछ ।

दिउँसो एक बजे बस्ने बैठकमा माओवादी केन्द्रबाट निर्वाचित सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई पदबाट हटाइएको सूचना पढेर सुनाउने कार्यसूची छ ।

चारै जना नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले गएका छन्। प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठकमा चार सांसदको पद रिक्त भएको जानकारी गराउनुहुने छ ।

यसअघि माओवादीबाट सांसद बनेका संघीय सांसदका चार र लुम्बिनी प्रदेशका दुई सांसद पदमुक्त भएका छन्।

प्रदेश २ को प्रदेशसभा बैठक ६ महिनापछि आज बस्न लागेको हो । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौं अधिवेशन शुरु गर्न लागिएको हो।

प्रदेशसभा संसद सचिवालयका सचिव रन्जितकुमार यादवले जनकपुरधाममा बैठक बस्ने जानकारी दिनुभयो । प्रदेशसभाको चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो। आजको बैठकअघि कार्य व्यवस्था समितिको बैठक बस्ने तय भएको छ ।

तर‚ नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको छ।

पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची छ। यस्तै‚ प्रदेश २ मा नेकपा एमालेको माधव–झलनाथ समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ। यसबारे पनि प्रदेशसभामा जानकारी दिइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *