एमालेको नेपाल–खनाल समूहद्वारा सुदूरपश्चिमका आठ जिल्लामा समानान्तर कमिटी गठन (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ धनगढी । नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिमका दार्चुला बाहेक आठ वटा जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।
धनगढीमा दुई दिनसम्म चलेको प्रदेश कमिटीको आठौँ बैठकले जिल्ला कमिटी र जनसंगठन कमिटी बनाएको हो । जिल्ला कमिटी प्रदेश कमिटीको बैठकले नै गठन गरेको छ भने अन्य संगठन गठन गर्न निर्देशन दिएको छ ।
कञ्चनपुरमा तारा लामा, बाजुरामा गगनबहादुर रावल र बैतडीमा महादेव भट्टको नेतृत्वमा जिल्ला कमिटी बनाइएको छ । अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइएको छ ।
रिक्त पदाधिकारी पूर्ति गर्न जिल्ला कमिटीलाई निर्देशन दिइएको छ । एमालेको नेपाल खनाल समूहले कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डाक्टर तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरबहादुर कुँवरलाई नै अध्यक्षमा नितरन्तरता दिएको छ । तर दार्चुलामा भने कमिटी बनाइएको छैन ।
नौ वटै जिल्लाका जनसंगठन र पेशागत संगठनलाई पनि पुनर्गठन गर्न निर्देशन दिइएको पार्टीका सुदूरपिश्चम ईञ्चार्ज डाक्टर भीम रावलले जानकारी दिनुभयो । बैशाखदेखि असार १५ गतेसम्म वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णयसमेत भएको रावलले बताउनुभयो ।
त्यसैबीच नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापालाई कारवाही गरेको छ ।
धनगढीमा दुई दिनसम्म चलेको प्रदेश कमिटीको आठौँ बैठकले पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गरेको भन्दै थापालाई पार्टी सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।
तपाईंलाई त पार्टीले निलम्बन गरेको छ नि भन्ने पत्रकारको जिज्ञासामा रावलले आफूलाई कसैले निलम्बन गर्न नसक्ने दावी गर्नुभयो । स्वयं अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेकाले मान्य नहुने उहाँको तर्क छ । अध्यक्ष ओली आफैं अबैध भएको रावलको दावी छ ।
पार्टीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको रावलको तर्क छ ।
प्रतिक्रिया