Main News

विद्यालय बन्द गर्ने सरकारको तयारीप्रति निजी विद्यालय सञ्चालकहरुले जनाए आपत्ति

हिमालय टिभी
२०७७ चैत २९ गते १४:४८
विद्यालय बन्द गर्ने सरकारको तयारीप्रति निजी विद्यालय सञ्चालकहरुले जनाए आपत्ति

२९ चैत २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् ।

निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने बताएको छ ।

कोरोना संक्रमणको दर देशभर एउटै नहुने भएकाले अत्यन्त आवश्यक भए सम्बधित विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न भन्दै प्याब्सनले अन्य ठाउँमा विद्यालय सञ्चालन गर्न दिन आग्रह गरेको छ ।

प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने विषयमा शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा छलफल भएको थियो । यद्यपि यो विषयमा निर्णय भइसकेको छैन । तर सरकारको तयारीमा प्याब्सनले विरोध गरेको छ ।

भौगोलिक विकटता, अभिभावकको आर्थिक सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता र शिक्षकको प्राविधिक दक्षता, गत वर्ष कोरोना महामारीको समयमा विद्यालय बन्द हुँदा सञ्चालन गरिएको अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थी मात्र समेटिएको भन्दै प्याब्सनले अहिले पनि विद्यालय बन्द गर्न नहुनेमा जोड दिएको छ ।

प्याब्सनले आफ्ना सदस्य विद्यालयलाई स्वास्थ्य सावधानीका पूर्ववत उपाय अनिवार्य र कडिकडाउका साथ अपनाइ पठनपाठनका साथै अन्य गतिविधि सञ्चालन गर्न गराउन मिति चैत १९ गते परिपत्र गरिसकेको पनि बताएको छ ।

विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपाय अवलम्बन गराउन शिक्षक र कर्मचारीलाई पनि आग्रह गरेको छ ।

गत वर्षको लकडाउनपछि विद्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरी तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयका गतिविधि सञ्चालन गर्नु नै उपयुक्त हुने प्याब्सनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *