Main News

नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो, पाँच वर्षमा १०७ गैंडा थपियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते १८:५१
नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो, पाँच वर्षमा १०७ गैंडा थपियो (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ चितवन । नेपालमा गैंडाको संख्या ७ सय ५२ पुगेको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ वटा गैँडा बढेर ७ सय ५२ पुगेको हो।

राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपालमा गैँडाको संख्या ७५२ पुगेको बताउनुभयो ।

यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६ सय ४५ वटा गैँडा थिए । हिजो सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् ।

चितवनमा सन् २०१५ मा ६ सय ५ वटा गैंडा थिए । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन वटा राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या बढेको छ । चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैँडा भेटिएको छ ।

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७, पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा मात्रै गैँडा फेला परेको छ । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो । १४६ वटा भाले, १९८ वटा पोथी भेटिएको छ । ४ सय ८ वटा गैँडाको लिङ्ग पहिचान हुन नसकेको सचिव ओलीले बताउनुभयो ।

५२० वटा वयस्क गैँडा भेटिदा ९६ अर्ध वयस्क र १३६ वटा बच्चा गैँडा भेटिएको छ । चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको हो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न २३ दिन लागेको थियो ।

गणनामा २ सय ५० जना गणक तथा ४३ वटा हात्ती प्रयोग भएको थियो । गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएका थिए । एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *