ओलीले पार्टीलाई विसर्जनको बाटोमा अघि बढाएको नेता नेपालको आरोप (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ पर्सा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले पार्टीलाई विसर्जनको बाटोमा अघि बढाएको आरोप लगाउनुभएको छ ।
वीरगञ्जमा आज आयोजित कार्यकर्ता भेलामा नेता नेपालले ओली अध्यक्ष भएपछि पार्टीमा समस्या आउन थालेको आरोप लगाउनुभयो ।
प्रश्न गर्नेलाई कारबाही गर्दै अध्यक्ष ओलीले पार्टीलाई विर्सजनको बाटोमा अघि बढाएको नेता नेपालको दाबी छ । अध्यक्ष ओलीले पार्टीका सबै नेता कार्यकर्तालाई दासको रुपमा व्यवहार गर्ने गरेको पनि नेपालले आरोप लगाउनुभयो ।
अध्यक्ष ओली पार्टी केन्द्रीय कमिटीसहितका सबै निकायमा अल्पमतमा भएको दाबी गर्दै नेता नेपालले त्यसको सामना गर्न नसकेर भाग्ने गरेको दाबी पनि गर्नुभयो ।
कार्यक्रममा नेता घनश्याम भुसालले तीन वर्ष अघि लोकप्रियताको शिखरमा पुगेका ओली आफ्नै कर्मका कारण अहिले घृणाको पात्र बनेको टिप्पणी गर्नुभयो ।
एमालेको नेपाल–खनाल समूहले पर्सामा बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय कमिटी गठन गरेको छ । यो समूहले पछिल्लो पटक समानान्तरक कमिटी बनाउने कार्य तिब्र बनाएको छ ।
प्रतिक्रिया