तक्मामा नेपालमा नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघद्वारा प्रदर्शन (फोटो फिचरसहित)
२८ चैत २०७७ काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
आज काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो ।
तर ति पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ । त्यसैको विरोधमा युवा संघ नेपालले आज दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।
प्रतिक्रिया