राजनीति

देउवा र पौडेलबीच यसरी भयो सार्वजनिक मञ्चमै बाजाबाज (भिडियो रिपोर्ट)

हिमालय टिभी
२०७७ चैत २७ गते २०:४०
देउवा र पौडेलबीच यसरी भयो सार्वजनिक मञ्चमै बाजाबाज (भिडियो रिपोर्ट)

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ भएको छ । ओली सरकार हटाएर नयाँ सरकार बनाउने कि नबनाउने भन्ने विषयमा दुई नेताबीच आरोप प्रत्यारोप र बाझाबाझ भएको हो ।

भाषण सकेर मञ्चतर्फ लम्केका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले सिटमा नपुग्दै यसरी रोक्नुभयो ।

कुराकानीका क्रममा देउवा झोक्किनुभयो । पौडेल पनि त्यसरी नै झोक्किनुभयो र सोफामा बस्नुभयो । तर त्यसपछि पनि भनाभन रोकिएन ।

देउवा यसरी झोक्किनुको कारण थियो पौडेलको भाषण । जसमा पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउन पहिले पाएको मौका चुनाव चुनाव भनेर गुमाएको भनेर देउवामाथि दोषारोपण गर्नुभएको थियो ।

पौडेलले चुनाव चुनाव भनेको भनेर आफ्नो विषयमा आपत्ति जनाएपछि झोक्किएका देउवाले आफ्नो पालोमा त्यसको जवाफ दिनुभयो । र, चुनाव जितिन्छ किन नजाने भनेर सोध्नुभयो । त्यतिमात्रै होइन सरकार बनाउन संख्या पुग्दैन कसरी हुन्छ भनेर प्रश्न पनि उठाउनुभयो ।

पौडेलको आपत्ति देउवाले चुनाव भन्नुभयो भन्ने मात्रै थिएन, देउवाले ओली सरकार हटाउन पहल गर्नुभएन भन्ने आशय पनि व्यक्त गर्नुभयो र अरु दलसँगको छलफलमा लचिलो भएर विकल्पमा तयार हुनुपर्नेमा जोड दिनुभयो । देउवाले पनि नाम ल्याउनोस भनेर पौडेललाई जवाफ फर्काउनुभयो ।

देउवा र पौडेलबीच सार्वजनिक रुपमै नयाँ सरकार गठन र चुनावका विषयमा भएको बाझाबाझले कांग्रेसभित्र सहज स्थिति र मतैक्यता नरहेको देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्