राजनीति

सभापति देउवाले भने–कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था छैन, चुनावको तयारीमा लाग्नुस् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २७ गते १६:३२
सभापति देउवाले भने–कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था छैन, चुनावको तयारीमा लाग्नुस् (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोल्दै सभापति देउवाले संरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गर्नुभयो । उहाँले संसदमा आफुहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेण्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौं । यो वास्तविकतालाई बुझ्नु प¥यो सबैले ।”

विभिन्न किसिमका टिकाटिप्पणीभन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उहाँले सबैलाई आश्वस्त तुल्याउनुभयो । संसदमा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उहाँले आग्रह गर्नुभयो । तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उहाँले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानैपर्छ भोलि । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ । चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले बिर्सिसके । ”

प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भात्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो “ओलीले सत्ता कब्जा गर्ने कोशिष गरेका छन् । उसले चाहेर कब्जा हुँदैन । त्यसैले भोलिको दिनमा एक भएर लाग्नुपर्छ ।”

सभापति देउवाले आफुले पटकपटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो “मैले प्रचण्डलाई तपाई नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि । उनी उता गइदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पायो प्रचण्डले । धेरै पटक प्राइमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस् । ”

उहाँले चुनावको समयमा आफुले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर भनेको स्मरण गर्दै अहिले अवस्था त्यस्तै आएको बताउनुभयो । तर तात्कालिन समयमा आफुले भनेका कुरा कसैले नसुनेको र दुईवटा पार्टी मिलेकाले जनताले पनि तीनै पार्टीलाई भोट दिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “मैले पहिला भनेको थिएँ, तपाईहरुलाई याद होला । कम्युनिष्टको सरकार आयो भने तपाई रुन पनि पाउनुहुन्न भनेको थिएँ । दुईवटा पार्टी मिले । मिलेपछि जनताले भोट हाल्दिए के गर्ने । भोट त हाम्रो हातमा छैन नि । जनताले हराएपछि हारिन्छ के गर्ने ? जनताको माझ जाउँ । जनताको दिल जितौ । अनि हामी चुनाव किन जित्तैनौ ? जनता यस देशको मालिक हो । जनताको भोट हामीले पाउनुपर्छ । तर जनताले दिँदैनन् के गरुँ त । तर समानुपातिकमा त एमाले र हाम्रो बराबर छ ।”

सभापति देउवाले संविधान अनुसार भदौभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र जनताको घर दैलोमा गएर जनताको दिल जित्ने काम गर्न पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्