Main News

प्रमुख प्रतिपक्षी दल कांग्रेसको आव्हानमा आज तीन दलको बैठक बस्दै

हिमालय टिभी
२०७७ चैत २७ गते ६:११
प्रमुख प्रतिपक्षी दल कांग्रेसको आव्हानमा आज तीन दलको बैठक बस्दै

२७ चैत २०७७ काठमाडौं । नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज दिउँसो ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलाउनुभएको हो ।

देउवाको पछिल्लो कदमले सत्तासमीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ । एक साताअघि नयाँ सत्ता समीकरणका लागि अग्रसरता लिने काँग्रेस केन्द्रीय समितिले निर्णय लिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा सत्ता समीकरणका लागि अनिच्छुक देखिनु भएको थियो । तर, अहिले सभापति देउवाले अग्रसरता देखाउनु भएको छ ।

सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए ।

कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले आज सत्ता समीकरणको विषयमा छलफल हुने जानकारी दिनुभयो । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै कांग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो ।

त्यतिबेला कांंग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा भने मध्यावधि चुनाव केन्द्रीत अभिव्यक्ति दिँदै आउनु भएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विस्थापन र संसद पुनःस्थापनामा जोड दिनुभएको थियो । तर पछिल्लो पटक ओली सरकार विस्थापन गर्ने विषयमा एकमत बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *