राजनीति

प्रधानमन्त्री ओलीलाई च्यालेञ्ज नगर्न कांग्रेसलाई सांसद महेश बस्नेतले दिए यस्तो सुझाव

हिमालय टिभी
२०७७ चैत २६ गते १७:५५
प्रधानमन्त्री ओलीलाई च्यालेञ्ज नगर्न कांग्रेसलाई सांसद महेश बस्नेतले दिए यस्तो सुझाव

२६ चैत २०७७ काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बनेको अवस्थामा अस्वस्थ्य खालका छलफल सदनमा चल्न थालेको टिप्पणी गर्नुभयो । उहाँले सांसद गगन थापालाई इंगित गर्दै विगतमा अभ्यास भएका, जाँचि भएका, भोगेका र असफल सिद्ध भएका नेताहरुको चेलाहरुले भूमिका खेलिरहेको भनी कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने कतिपय साथीभाइहरुलाई म के भन्न चाहन्छु भने, यो बोकाको शैलीले दाईँ गरिँदैन र दाईँ गर्नका लागि गोरुकै शैली चाहिन्छ र आज संसदमा सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई हामीले सके सहयोग गरौ । नसके वस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौ ।”

प्रधानमन्त्री राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिँदै आएको भन्दै उहाँले सरकारले गरेका विकास निर्माणकाका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन’ भनी भन्न चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो “ रानी पोखरी बनेको, धरहरा ठडिएको, भानु स्कुल बनेको कुराले किन हाम्रो टाउको दुख्दैछ ? एकदिनमा १ सय ९६ अस्पताल शिलान्यास भएको कुराले, १ सय ६४ वटा निर्वाचन क्षेत्रसँग सम्बन्धित सडकहरु रणनीतिक सडकको रुपमा शिलान्यास हुँदा किन टाउको दुख्दैछ ? एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर एउटा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ भन्नुहोस् । ”

मेलम्ची, धरहरा लगायत निर्माण आयोजनाहरुको फेहरिस्त दिँदै उहाँले सरकारले बैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपुर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त अख्तियारलाई बलियो बनाउने भूमिका खेलेको छ सम्पत्ति शुद्धिकरण कार्यालयलाई व्यवस्थित गरेको छ । राजश्व अनुसन्धानजस्ता कार्यालयहरु व्यवस्थित भएका छन् । अनि विगतमा भ्रष्टाचार गरेका नेताहरु अहिले फरार छन् । ती कुन पार्टीमा छन् खोज्नुहोस् । ती नेताहरु अहिले हामीलाई थुन्दैछ सरकारले भनेर गायव भइरहेका छन् । डराइरहेका छन् । टिभिमा इन्टरभ्यु दिइरहेका छन् । ती नेताहरु कुन पार्टीमा छन् खोज्नुहोस् । ”

राजनीतिक दलसम्बन्धी ऐन अनुसार दल फुट्यो भने मात्रै विश्वासको मत लिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको राजीनामा माग्नु “कुतर्क ” भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “कतिपय साथीहरुले भन्नुभयो, नेकपा विभाजित भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । यो कु तर्क हो । ”

उहाँले माओवादी केन्द्रले दिएको विश्वास फिर्ता लिन पनि नसकेको र अविश्वासको प्रस्ताव पनि ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हिजो नेकपा एमालेलाई न पोथी न भाले भन्ने नेकपा माओवादी केन्द्र आज न पोथी न भालेको अवस्थामा छ र उसले न विश्वासको मत फिर्ता लिनसक्छ, न अविश्वासको प्रस्ताव नै ल्याउन सक्छ । ”

उहाँले सभामुखले संसदमा सहभागी हुन प्रधानमन्त्री आए पनि सहभागी हुने वतावरण नमिलाएको आरोप लगाउनुभयो । उहाँले एक महिनाको दौरानमा ६ पटक बैठक बसेको र पहिलो दिनको बैठक नै ढिलो गरी शुरु हुदा ४५ मिनेट बसेर प्रधानमन्त्री फर्किएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “जुन दिन प्रधानमन्त्रीज्यू आउनुभयो । त्यो दिन सभामुख लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ती गर्ने र आलटाल गर्ने । पहिलो बैठककै विषय हामी हेर्छौ, अध्यादेश पेश गर्न नदिन माओवादी केन्द्रले वहिष्कार ग¥यो । कांग्रेसले रोष्टम घेर्ने काम ग¥यो । यो तितो यथार्थ र इतिहास हामी सबैले सम्झेका छौ । यहाँ प्रधानमन्त्रीको अनुपस्थिति भयो सदनमा भन्ने ढंगले कुरा उठिरहेको छ । प्रधानमन्त्रीको राजीनामा जबरजस्ती पनि मागिँदैछ । प्रधानमन्त्रीलाई गलहत्याउने पनि कुरा गरिँदैछ । कतिपय युवा साथीहरुले प्रधानमन्त्रीसँग ठाडठाडै बहस गर्ने चुनौती पनि दिइरहनुभएको छ । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्