राजनीति

प्रधानमन्त्री ओलीले सबैतिर मिथ्याङ्क पेस गरेको सांसद थापाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २६ गते १७:४०
प्रधानमन्त्री ओलीले सबैतिर मिथ्याङ्क पेस गरेको सांसद थापाको आरोप (भिडियो रिपोर्टसहित)

२६ चैत २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिनु भएको छ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसदभित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभएको हो । उहाँले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उहाँले एकएक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । म ÷हामी तपाईसंग बहस गर्न तयार छौ । तपाईले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर । ल आउनुहोस्, एउटा एउटा मन्त्रालयमा बहस गरौ । कहाँ तीन बर्षमा चमत्कार भएको छ ? पानीमा बहस गरौ । सडकमा बहस गरौ । पुलमा बस गरौ । राष्ट्रिय आयोजनाहरुको एउटा एउटा कुरामा बहस गरौ । तथ्य र तथ्यांकमा टेकेर बहस गरौ प्रधानमन्त्रीज्यू । नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाउनुभएको अवस्थामा काम कति भयो ? कसरी भयो ? भन्ने कुरामा बहस गर्न तपाईलाई यो संसदमा एउटा सांसद निम्तो दिन चाहन्छ । चुनौती दिन चाहन्छ । संसदलाई छलेर भागेर होइन , यहाँभित्र आएर छलफल गरौ । शिलन्यास र उद्घाटन नै गर्ने रहर हो भने शुरु भइसकेका पुलहरु सकिएपछाडि बालुवाटारको परिसरभित्र थुप्रै जग्गा खाली छ । त्यहीभित्र प्रत्येक दिन एउटा नयाँ भवनको शिलन्यास गर्नुहोला । बनेका कोठाको फेरि उद्घाटन गर्नुहोला । ”

उहाँले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई “अल्पज्ञान”को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेछ ? दुईवटा कारण हुनसक्छन् । एउटा कारण वास्तविकता के छ भन्ने कुरा प्रधानमन्त्रीजी लाई थाहा छैन । चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ । विकृत असत्यभाषी । यी दुईवटै अवस्था राष्ट्रका निम्ति हानीकारक छ । खराब छ ।”

प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर २०७५ सालको असोजसम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसँग कुरा नमिल्दा साढे २ बर्ष बढी समय लागेको र डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भएको भन्दै उहाँले भन्नुभयो “अहिले यत्रो फुर्ति ?”

उहाँले भन्नुभयो “कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ । चमत्कार भयो भनेको छ । ६७ सालमा शुरु भएको अपर तामाकोशी ७३ सालमा सकिनुपर्ने अब आउने सालको बैशाखतिर पहिलो युनिट शुरु हुँदैछ । अब हेर्नुहोला सभामुख महोदय, हामी हेर्छो, ठ्याक्कै मेलम्चीको जस्तो अहिले गरिएको जुन तमासा छ, अब यो तामाकोशीमा देखाइनेवाला छ । गजबै भो । चमत्कारै भो । प्रधानमन्त्री त कस्तो कस्तो । फ्याट्ट बिजुली बाल्दिनु भो । पानी झार्दिनुभो । अब कविताहरु हामी सुन्न पाउनेवाला छौ । ”

उहाँले बुढीगण्डकी, फास्टट्रयाक , पश्चिम सेती, कर्णाली करिडोर, कोशी करिडोर, बबई सिंचाई आयोजना, सिंक्टा सिंचाई आयोजना लगायत बर्षोदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासिन भएको आरोप लगानुभयो ।

निर्माण सकिएर चालु भएको २ बर्ष भइसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको, बीच बाटोमा पुगेको कामको शिलन्यास गरिएको, कसैको डीपीआर नै नभएको भन्दै उहाँले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको शिलन्यास गरेर शिलन्यास र उद्घाटन गर्ने रहर पुरा गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “सब स्टेशन चार्ज भएको कहिले ? अस्ती गएर थिचेको छ बटन । यो के को तमासा हो । अस्ति भर्खर १ सय ६५ वटा बटन ट्याक्क थिचेर सडक उद्घाटन । कति सजिलो छ । पैसा ३ अर्ब छ, लाग्छ ५७ अर्ब । डिजाइन पनि छैन । पैसा छैन । डिजाइन पनि नचाहिने ? पैसा पनि नचाहिने ।”

दिनको ३ किलोमिटर विस्तार नभएको बेला दैनिक १० किलोमिटर पीच भएको भनी प्रचार गरिएको उल्लेख गर्दै उहाँले क्यालकुलेटरले हिसाव गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोक्दिउँ । एकैचोटी १६ सय ५० वटा । प्रधानमन्त्री यत्तिको बहादुर भएको बेलामा । ठोक्दिए भैहाल्यो नि सभामुख महोदय । प्रधानमन्त्रीज्यूले अहिले आएको छ १० किलोमिटर बाटो दिनको पीच भएको छ भनेको छ । क्याल्कुलेटर ल्याएर हिसाब गरौ न ।”

नियम, कानून र काम लगाउने निकायको क्षमता लगायत पूर्वाधार निर्माणमा रहेको आधारभूत समस्याहरु सम्बोधन गर्न आफुहरु तयार रहेको भन्दै उहाँले त्यसतर्फ प्रधानमन्त्र्रीलाई रुची नै नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्