Main News

प्रधानमन्त्री ओलीले आफूलाई राजा महाराजाभन्दा महान ठान्ने गरेको सांसदको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २६ गते १५:०१
प्रधानमन्त्री ओलीले आफूलाई राजा महाराजाभन्दा महान ठान्ने गरेको सांसदको आरोप (भिडियो रिपोर्टसहित)

२६ चैत २०७७ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद लालकाजी गुरुङले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो ।

सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमि बगाएको र कयौ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुनर्स्थापना गरेर उचित राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वसमेतलाई धुलोमा मिलाउने कोशिस गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “यतिबेला सिंगै अधिवेशनलाई सरकारले बिजनेसविहीन बनाएको छ । के सरकारले बिजनेश दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुनःस्थापित भइसकेको छैन । ”

सांसद सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरिता कुमारी गिरीले बालबिकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सिता देवी यादवले शान्ति सम्झौताको १४ बर्ष भइसक्दा पनि द्वन्द्वकालिन समयमा वेपत्ता पारिएका व्यक्ति र द्वन्द्व पीडितले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय दिएर आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्भाग्यपूर्ण र रहस्यमय रहेको बताउनुभयो । सांसद महन्थ ठाकुरले दिएको एक अन्तर्वार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दे उहाँले भन्नुभयो “म ठाकुरजीसँग सोध्न चाहन्छु कि आज मधेसका जनताहरु संघीयता विरोधी सरकारमा जान चाहँदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहँदैन ।”

सांसद स्मृति नारायण चौधरीले दिल्ली र चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाउनुधयो ।

सांसद संञ्जय कुमार गौतमले बाघ, हात्ती र गैडाको आंतकले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका बर्दियालीहरु प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा काम गर्ने, पर्यटन व्यवसायी तथा स्थानीयको जीवन रक्षाको प्रत्याभुति गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *