Main News

आज पाँचौँ स्वास्थ्य बीमा दिवस, आजबाट थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुँदै

हिमालय टिभी
२०७७ चैत २५ गते ९:१९
आज पाँचौँ स्वास्थ्य बीमा दिवस, आजबाट थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुँदै

२५ चैत २०७७ काठमाडौं । आज पाँचौँ स्वास्थ्य बीमा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षभित्र सबै जिल्ला र स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार हुने बताउनु भएको छ ।

यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण, बीमितको आर्थिक जोखिम न्यूनीकरण एवं स्वास्थ्य सेवा प्रदायक संस्थाको दक्षता र जवाफदेहिता अभिबृद्धि हुने उहाँको भनाइ थियो ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न, जेष्ठ नागरिक लगायत तोकिए बमोजिमका वर्गलाई योगदान रकममा पूर्ण तथा आंशिक छुटको व्यवस्था गरिएको बताउनुभएको छ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट सुरुवात भएको कार्यक्रम अहिले ६९ जिल्लामा लागु भएको छ ।

यसैबीच,स्वास्थ्य बीमा कार्यक्रम आजबाट थप ६ जिल्लामा बिस्तार हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले सीआइएनलाई जानकारी दिनुभयो । काठमाडौं र ललितपुरबाहेक ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने उहाँको भनाइ छ ।

काठमाडौं र ललितपुरमा भने कार्यक्रम सुरु हुन केही समय लाग्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् ।पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य ७ सयका दरले बीमा रकम थप गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *