Main News

यो वर्ष देशमा दश वर्षयताकै धेरै डढेलो, फायर फाइटिङ हेलिकप्टर किन्ने तयारीमा सरकार

हिमालय टिभी
२०७७ चैत २५ गते ७:५९
यो वर्ष देशमा दश वर्षयताकै धेरै डढेलो, फायर फाइटिङ हेलिकप्टर किन्ने तयारीमा सरकार

२५ चैत २०७७ काठमाडौं । यस पटक नेपालमा देखिएको डढेलाको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस वर्ष एकै दिन झन्डै आठ सयवटा डढेलोका घटना रेकर्ड भएका छन् । जसअनुसार सोमबार ७ सय ९८ स्थानमा डढेलो लागेको थियो । नेपालमा यसअघि २०६६ सालमा उच्च प्रकोपका रूपमा डढेलो देखिएको थियो ।

देशव्यापी डढेलोमा परेर ४९ जनाले ज्यान गुमाएका थिए । त्यसपछि केही समय मत्थर बनेको आगोले यो पटक फेरि उग्र रुप लिएको छ । गत वर्ष १८८ डढेलोका घटनामा ४० जिल्ला प्रभावित बनेका थिए ।

यस वर्ष वैशाखयता हालसम्म दुई हजार ७१३ वटा डढेलोका घटना रेकर्ड भएका प्राधिकरणले जनाएको छ । यस वर्ष डढेलो निभाउन गएका चार जनाको ज्यान गइसकेको छ । सात जना उपचाररत छन् । डढेलोको धुवाँ फैलिँदा नेपालमा वायु प्रदूषण उच्च बनेको डढेलो विज्ञ सुन्दर शर्माले बताउनुभयो ।

नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर किन्ने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो ।

नेपाली सेनालाई जिम्मा दिने गरी हेलिकप्टर खरिद गर्ने प्रक्रिया अगाडि बढेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभयो । फायर फाइटर हेलिकप्टरले डढेलो लागेको स्थानमै पुगेर आकाशमार्ग हुँदै आगो निभाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *