Main News

बर्दियामा समातिएको नरभक्षी बाघ चिडियाखाना ल्याइयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २४ गते १४:३५
बर्दियामा समातिएको नरभक्षी बाघ चिडियाखाना ल्याइयो (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ ।

निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई आज बिहान ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो । आइतबार गैंडा गणना गरी फर्कने क्रममा हात्तीलाई घाँस काटदै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारुको सोही बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

निकुञ्जका कर्मचारीलाई मारेपछि उक्त बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको थियो । १० वर्षको उक्त भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ललितपुर ल्याइएको हो । बर्दियाबाट ल्याइएको बाघलाई चिडियाखानामा राख्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै वनमन्त्री प्रेमबहादुर आलेले जङ्गली जनावरको आक्रमणबाट हुने घटनाहरु दोहोरिन नदिनका लागि राष्ट्रिय निकुञ्जहरुमा पर्खाल लगाउने अथवा विद्युतीय तारबार गर्नुपर्ने बताउनुभयो ।

त्यसका लागि आफूले अर्थमन्त्रीसँग बजेट विनियोजन गर्ने विषयमा कुराकानी गरेको पनि स्पष्ट पार्नुभयो । बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै बस्ती भएकाले त्यहाँ करिब १० किलोमिटर आरसीसी पर्खाल लगाउन आवस्यक देखिएको उहाँले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग वरपर केही महिनायता सिलसिलाबद्ध रुपमा बाघले मानिसमाथि आक्रमण गरिरहेको छ । यसै आर्थिक वर्षमा मात्रै १० जना मानिसको मृत्यु बाघको आक्रमणबाट भएको छ ।

जसमध्ये ३ वटा निकुञ्जभित्र, ५ वटा जैविक मार्ग क्षेत्रमा र २ वटा मध्यावर्ती क्षेत्रको जङ्गलमा घटना भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजुन्तु संरक्षण विभागले जनाएको छ । बर्दिया निकुञ्जले अहिलेसम्म ४ वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *