Main News

कोरोना रोकथामका लागि लकडाउन गर्ने योजना छैनः स्वास्थ्यमन्त्री त्रिपाठी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २४ गते १३:४५
कोरोना रोकथामका लागि लकडाउन गर्ने योजना छैनः स्वास्थ्यमन्त्री त्रिपाठी (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ ।

आज काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताउनु भएको हो । उहाँले लकडाउनभन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताउनुभयो ।

लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी यो चाहँदैनौं कि नेपाल फेरी पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडी जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दीर्घकालिन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाइँ लडिरहेको छ हामी पनि एउटा यो लडाइँमा योद्धा भएका हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाइँ गर्न तयार छ ।’

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारन्टिन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसका लागि सतर्क छौं । तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो । सावधान हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताउनुभयो । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि शुरु हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *