Main News

कर्णाली प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा, शाही सरकार संकटमा

हिमालय टिभी
२०७७ चैत २४ गते १३:२७
कर्णाली प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा, शाही सरकार संकटमा

२४ चैत २०७७ काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । योसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।

आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्मन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाउनु भएको हो ।

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले मन्त्रीलाई राजीनामा दिन र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । संसदीय दलको निर्णय अनुसार आफूहरुले संयुक्त राजीनामा बुझाएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

४० सदस्यीय कर्णाली प्रदेशमा एमालेका २० सांसद छन । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन । एमाले बाहेक सबै दल मिल्दा पनि कर्णाली प्रदेशमा बहुमत पुग्ने अवस्था छैन ।

एमालेले समर्थन फिर्ता लिने निर्णय यसअघि नै गरेको थियो । तर ९ जना सांसद रहेको नेपाल खनाल समूहले उक्त निर्णयमा असहमति जनाएपछि कार्यान्वयन हुन सकेको थिएन । राजीनामा दिएका मन्त्री नेपाल खनाल समूहका हुन् ।

कर्णाली प्रदेशमा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । एमालेलाई पनि नयाँ सरकार बनाउन विपक्षी दलले सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *