Main News

काठमाडौं उपत्यका आज पनि विश्वकै प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा

हिमालय टिभी
२०७७ चैत २४ गते १३:१६
काठमाडौं उपत्यका आज पनि विश्वकै प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा

२४ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्याका आज पनि विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमै रहेको छ। हिजो पनि एक नम्बरमै थियो।

केही दिन कम देखिएको प्रदूषण हिजोदेखि फेरि ह्वात्तै बढेर गएको हो । प्रदूषण बढेपछि घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने जस्ता असर देखिएको छ।

आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स क्युआई ३१० रहेको छ। प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि हिजोदेखि भने बढ्न थालेको हो। वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुले बताएका छन्।

वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा समेत थपिँदै गएको छ। आज काठमाडौंपछि बंगलादेशको ढाका, भियतनामको हानोइ, भारतको दिल्ली तथा म्यानमारको यांगुन प्रदुषित शहरको सूचीमा छन्।

काठमाडौंबाहेक रुपन्देही, नेपालगञ्ज र पोखरा पनि प्रदुषित भएका छन् । रुपन्देही सिद्धार्थनगरको क्युआई २७९, नेपालगञ्जको क्युआई २३० र पोखराको क्युआई २१४ छ।

काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विभिन्न स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले घर बाहिर निस्कनैपर्ने अवस्थामा मास्कको प्रयोग गर्न विज्ञहरुको सुझाव छ ।

यसअघि उपत्यकामा चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएपछि सरकारले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *