Main News

इन्धनमा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ, अनेरास्ववियूले बुझायो ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २३ गते १४:५०
इन्धनमा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ, अनेरास्ववियूले बुझायो ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्रसमेत बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकाले यसलाई स्वीकार्न नसकिने बताउनुभयो ।

यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्रपन्ध्र दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्यवृद्धि गरिएको बताउनुभयो । निगमसँग भण्डारण क्षमता नभएकाले भारतले मूल्य बढाउने बित्तिकै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो ।

यद्यपि विद्यार्थीहरुको माग जायज भएकाले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत बताउनुभयो । उहाँले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।
मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ ।

आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *