Main News

देशभर फेरि ह्वात्तै बढ्यो वायु प्रदुषण, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञको सुझाव

हिमालय टिभी
२०७७ चैत २३ गते १४:२०
देशभर फेरि ह्वात्तै बढ्यो वायु प्रदुषण, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञको सुझाव

२३ चैत २०७७ काठमाडौं । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ ।

वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गर्नुभयो ।

उहाँले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

उहाँले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उहाँले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गर्नुभयो ।

बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उहाँले अनुरोध गर्नुभयो ।

गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ ।

यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

काठमाडौं उपत्यकासहितका देशका विभिन्न शहरमा फेरि वायु प्रदूषण बढेको हो। केही दिन प्रदूषणमा सुधार आएपनि हिजोदेखि प्रदूषण फेरि बढ्न थालेको छ ।

आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा फेरि शीर्ष स्थानमा पुगेको छ। आज बिहान काठमाडौंको एयर क्वालिटी ३ सय ३१ एक्युआई मापन भएको छ । यस्तै‚ चितवनको सौराहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३ सय भन्दामाथि पुगेको छ ।

काठमाडौंमा तुवाँले र प्रदूषणका कारण बिहान बेलुका चिसो बढ्न थालेको छ । सामान्यतया यस समयमा काठमाडौंको न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै हुने गरेको थियो । तर केही दिनदेखि न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियसको हाराहारीमा रहने गरेको छ ।

यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो । तुवाले र प्रदूषणको प्रमुख कारण देशका विभिन्न स्थानमा लागेको डढेलो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वन तथा भू(संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७ सय भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन् । प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि मौसम विभागका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकाले अझै केहीदिन चिसो कायम रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो । यस्तै वातावरण विभागले पनि प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *