प्रतिनिधिसभा बैठक बस्दै, सरकारले विजनेश नदिँदा प्रतिवेदन पेशमै सीमित
२३ चैत २०७७ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सरकारले विजनेस नदिँदा आजको बैठक पनि सामान्य प्रतिवेदन पेशमै सीमित हुने भएको छ ।
संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६–७७ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने छ ।
यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने कार्यक्रम छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
सरकारले प्रतिनिधिसभा प्रभावकारी बन्न नसकेको भन्दै चालु हिउँदे अधिवेशन अन्त्यको गृहकार्य समेत गरेको छ ।
प्रतिक्रिया