कृषिका निश्चित क्षेत्र तोकेर विदेशी भित्राउनुपर्ने सांसदहरुको राय
२२ चैत २०७७ काठमाडौं । सांसदहरुले कृषिका कुनकुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो त्यसमा स्पष्ट भएर मात्र वैदेशिक लगानी भित्राउनुपर्ने बताएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने भने पनि कुनकुन क्षोत्रमा भित्र्याउने हो त्यो स्पष्ट नभएको बताए । उनीहरुले कुनकुन क्षेत्रमा विदेशी लगानी चाहिने हो त्यो विधागत रुपमा छुट्याउनु पर्नेमा जोड दिए ।
बैठकमा सांसद अमृता देवी अग्रहरिले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो । कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको बताउनुभयो ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनमा आत्मनिर्भर बन्न र स्वदेशमै रोजगारी सिर्जना गर्न विदेशी लगानी आवश्यक ठानेर नै सरकारले कृषिमा विदेशी लगानी भित्राउन लागेको बताउनुभयो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव पेम नारायण कंडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुनेगरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभयो ।
कृषिमा विदेशी लगानी खुला निर्णय गरे पनि त्यसमा विरोध भइरहेको छ । त्यसैले अहिले विदेशी लगानी आवश्यक हो वा होइन भन्ने बारेमा बहस भइरहेको छ । त्यसैले समितिले आगामी बैठकमा अझ बिस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर छलफल गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया