Main News

एमालेको नेपाल–खनाल समूहद्वारा दुई महिने अभियान घोषणा, ओलीलाई एकतामा फर्कन आव्हान

हिमालय टिभी
२०७७ चैत २१ गते १७:४७
एमालेको नेपाल–खनाल समूहद्वारा दुई महिने अभियान घोषणा, ओलीलाई एकतामा फर्कन आव्हान

नेकपा (एमाले)को नेपाल खनाल समूहले देशभर संगठन निर्माणका लागि दुई महिने अभियान घोषणा गरेको छ ।

पार्टी संस्थापनसँग सहकार्य गर्ने प्रयास असफल भएपछि नेपाल खनाल पक्ष समानान्तर रुपमा संगठन निर्माणमा जुटेको हो । यो समूहका स्थायी समिति सदस्यको बैठकले देशभर संगठन निर्माण र सुदृढीकरणका लागि दुई महिने कार्यक्रम तय गरेको हो ।

यद्यपि उसले यो अभियान पार्टी एकताका लागि भएको दाबी गरेको छ । कलंकीमा भएको बैठकले पार्टीका अन्तरविरोधलाई लिएर कार्यकर्तालाई प्रशिक्षित गर्ने निर्णय पनि गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

नेता रघुजी पन्तले अध्यक्ष ओली पेलेर अघि बढेपछि प्रतिरोध गर्न सुदृढीकरण अभियानमा लागेको बताउनुभयो । अभियानका क्रममा वडा तहसम्म संगठन बनाउने उहाँले जानकारी दिनुभो ।

नेपाल–खनाल समूहले यही हिनाभित्र युवा संघको ७० वटा जिल्ला कमिटी बनाउने निर्णय समेत गरेको छ ।

चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लैजाने निर्णय पनि भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।

अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि नेपाल–नेपाल समूहले गरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरिरहेको भन्दै नेपाल–खनाल समूहले समानान्तर गतिविधि तिब्र पारेको छ । उसले यो दुई महिनाको अवधिमा तीन वटा ठूला सभा गर्ने निर्णय पनि गरेको छ ।

वैशाख ९ गते काठमाडौं, वैशाख १३ गते विराटनगर र जेठ ३ गते चितवनमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *