राजनीति

प्रधानमन्त्री ओलीले राजीनामा नदिए कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँछः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २१ गते १६:५६
प्रधानमन्त्री ओलीले राजीनामा नदिए कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँछः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताउनु भएको छ ।

नेपाली कांग्रेस नुवाकोटद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित हुनुभएका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौंं ।’

सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीनदलको बीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनर्स्थापनाका लागि आवाज उठाएका तीन वटा दलबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’

उहाँले अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताउनुभयो । तर यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताउनुभयो । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘महाधिवेशन हुन्छ, समयमै हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुन्छ, गर्नैपर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ ।’

जनता समाजवादी पार्टी नेपालका माग पूरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘जनता समाजवादीका नेताहरुसँग हामी कुरा गर्छौं । उहाँहरुका माग पुरा गर्नलाई हामी प्रयास गर्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्