राजनीति

समर्थन फिर्ता लिएर देखाउन प्रधानमन्त्री ओलीले दिए चुनौति, संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

हिमालय टिभी
२०७७ चैत २१ गते १६:४९
समर्थन फिर्ता लिएर देखाउन प्रधानमन्त्री ओलीले दिए चुनौति, संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

२१ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिनुभएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनैतिक महत्वका सडक शिलान्यास कार्यक्रममा बोल्दै उहाँले समर्थन फिर्ता लिन चुनौति दिनुभएको हो । उहाँले दिनहुँ विभिन्न थरिले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता भएपछि राजीनामा दिने बताउनुभएको हो ।

उहाँले सरकारले आफ्नो ३ बर्षे कार्यकालमा निकै राम्रा र दुरगामी महत्वका काम गरेको भन्दै देश विकासको गतिमा लम्किएको देख्न नचाहने तत्वले सरकारको विरोध गरेको दाबी गर्नुभयो । उहाँले संसदलाई व्यक्तिगत स्वार्थमा नभई जनताको आवश्यकता अनुसार चल्ने बनाउनका लागि ताजा जनादेशकमा जानुपर्ने र सोही आवश्यकतालाई हेरेर सरकारले प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पार्नुभयो ।

समर्थन फिर्ता गर राजीनामा आउँछ
प्रधानन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिनुभएको छ । उहाँले आफुलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताउनुभयो । उहाँले राजधानीमा मेलम्चीको पानी आएको थाहा नपाउने अखबारले आफ्नो राजीनामा मागिएको समाचार भने दिनहुँ छाप्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रको लोकप्रिय, बढी बिक्ने बहुत लोकप्रिय भन्ने अखबार काठमाडौमा मेलम्चीको पानी आएको समाचार दिँदैन । प्रधानमन्त्रीको राजीनामा मागियो भनेर, आज माग्या हो र प्रधानमन्त्रीको राजीनामा ? माग्या माग्यै छ त । मागेपिच्छे म कसरी दिनसक्छु ? एक दिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, एक दिन माग्दैन । मागेको मागेकै छ । हटाउन न त । समर्थन पिर्ता लिइँदेउ भन्छु त्यो पनि लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन । राजीनामा माग्छ । दिनैपिच्छे एक एकवटाले राजीनामा माग्छ अनि दिनैपिच्छे राजीनामा मागेको खबर अखबारले छाप्छ तर मेलम्चीको पानी आएको थाहा पाउँदैन ।”

संसदीय अंकगणित
प्रधानमन्त्री ओलीले संसदलाई जनताको आवश्यकता र प्राथमिकतामा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत गरिए ताजा जनादेशमा जानुपर्ने तर्क गर्नुभयो । उहाँले संसदीय अंकगणित देशको आवश्यकताभन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिर्वतन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानुपर्ने दाबी गर्नुभयो । देश र जनतको आवश्यकताका लागि संसदको अंकगणित परिवर्तन गर्नुपर्ने भएकाले आफुले संसद विघटन गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “संसद यस्तै हो । कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृतिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सारिदिन्छन् । मिलाई दिन्छन् । संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधै प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंकगणित यदि अनुपयुक्त ढंगले त्यहाँ खेल भइरहेको छ र अनुपयुक्त आकार लिइरहेको अवस्थामा संसदीय अंकगणित देशको आवश्यकता, जनताको आवश्यकता र अनुकुलताका लागि ताजा जनादेशमा जानुपर्छ । पोलिटिक्स त्यो हो । कसैको स्वार्थ केन्द्रीत, स्वार्थ निर्देशित होइन । देश,जनता र विकासको आवश्यकता अनुसारको अंकगणित हामीले जनप्रतिधि संस्थाहरुमा निर्माण गर्नुपर्छ र खासगरि संसदमा, जो सरकार बनाउने, संविधान संशोधन गर्न सक्ने, कानून निर्माण र परिवर्तन गर्न सक्ने थलो हो । त्यस थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनावटमा लैजानुपर्छ । यदि व्यवस्थापन भएन र विभिन्न तत्व र व्यक्तिका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकताविपरीत गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्नका लागि हो ।”

भ्रम फैलाउने काम गरियो
प्रधानमन्त्री ओलीले फासीवाद ल्याउन चाहनेहरुले नै अहिले फासीवाद आउन लाग्यो भन्दै लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेको दाबी गर्नुभएको छ । शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेकाहरु नै अहिले फासीवाद आयो भन्दै सरकारको विरोधमा पुन जनतालाई भ्रमित पार्ने प्रयासमा लागेको दाबी उहाँले गर्नुभयो । तर उहाँले यसमा संलग्नहरुको नाम भने लिनुभएन ।

उहाँले भन्नुभयो “के हो तानाशाही भनेको ? फासीवाद भनेको शब्द बुझेर बोलेको हो कि नबुझी बोलेको हो ? के हो फासीवाद भनेको ? जसले फासीवाद छ अहिले भने, त्यही मान्छेले फासीवाद ल्याउन खोजेका थिए । संविधानले शान्तिपूर्ण परिर्वतनको बाटो दिएपछि पनि जनताको अभिमत, जनताका बीचमा जाने कानूनी र प्रणलीगत व्यवस्था खुल्ला भएपछि पनि जनतालाई भड्काएर, उचालेर लोकतन्त्रका विरुद्ध केही गर्नुपर्ने आवश्यकताको नेतृत्व जो मान्छेले गर्छ , लोकतन्त्रका विरुद्ध उसैले भन्छ कि फासीवाद, तानाशाही, अधिनायकवाद भो । नबुझेर बोल्या जस्तो लाग्यो मलाई । यस्ता भ्रमपूर्ण कुराबाट भ्रमित हुनुपर्ने कुनै आवश्यकता छैन । ”

संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

प्रधानन्त्री ओलीले संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणको दोश्रो प्याकेजको प्रिक्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई दिएको निर्देशन प्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानबिन गर्ने र निर्क्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेको भन्दै त्यसो नगर्न सचेत गराउनुभयो । विकास निर्माणका काममा अवरोध हुँदा त्यसले बहुआयामिक क्षति पुराउने भन्दै त्यसतर्फ सवै जिम्मेवार निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले के के ठाउँमा र कति समय असर पार्दछ ? त्यसले कार्यसम्पादन गर्ने समयलाई कति पर धकेल्छ ? त्यो काम सम्पन्न हुन कति पछि मात्र संभव छ ? त्यसको प्रत्यक्ष आर्थिक क्षति र विकासमा पार्ने प्रतिकुल असर, यो सबै कुराहरुलाई हामीले ध्यान दिनुपर्छ । संसदीय समितिले अन्धाधुन्ध ढंगले एउटाले पनि बोलाएको छ छानबिन गरेको छ । अर्कोले पनि आदेश गरेको छ । उसले पनि आदेश गरेको छ । अर्कोले पनि आदेश गरेको छ । त्यसैमा अनेक समितिले छानबिन गर्छ । अनेक समितिले आदेश दिन्छ र काम हुनुभन्दा पहिले… आफ्ना क्षेत्राधिकार र आफ्ना कामको असरलाई पनि हामीले गम्भीरतापूर्वक हामीले ध्यान दिनुपर्छ । संसदीय समितिले सडक नबनाउँ पुल नबनाउ भनेर आदेश त दिन्छौ तर त्यसको असर अर्थतन्त्रमा के हुन्छ ? अनियमितता भएको छ भन्ने लाग्छ भने समितिलाई ,सम्बन्धित ठाउँलाई यसलाई हेर्नु भनेर लेखिदिए हुन्छ तर काम रोक्ने कुरा अरबौको आयोजना रोकेर फेरि गर्दा त्यसले पार्ने असर र परिणाम हेर्नुपर्छ । ”

राज्यका अधिकार प्राप्त निकायले स्थलगत आदेश दिँदा विकास निर्माणका कामहरुमा प्रतिकुल असर पर्न नहुने र काम चालु राखेर छानबिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विषाक्तपूर्ण राजनीति
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै विषाक्तपूर्ण राजनीति गरेको दाबी गर्नुभयो । उहाँले नेपाली उखान उधृत गर्दै सरकारले गरेका राम्रा काम नदेखेको भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “लक्ष्मी प्रसाद देवकोटाले भनेका छन् नि दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले कानमा । आँखा छ तर आँखा भएर के गर्ने ? देख्न नखोजेपछि । केही पनि भएको देख्दैन । सिन्को भाँचिएको देख्दैनन् केही मान्छेहरु । र अत्यन्तै विषाक्त राजनीति । समाजलाई विषाक्त बनाउने अनि भाड्ने प्रयास केही मान्छेहरुले गरिराखेका छन् । यहाँ त फासिवाद आइसक्यो । अधिनायकवाद, यहाँ तानाशाही आइसक्यो । यस्तो केही मान्छेहरु गर्छन् । ती कामको चर्चा गर्दैनन् । म त्यो कथा दोहोराउन चाहन्नँ एउटा जनावर स्वर्ग गएछ । चौरासी व्यञ्जन दिएको, नखाइकन पल्ला छेउ पुग्यो । यो भन्दा बढी म भन्न चाहन्नँ । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्