Main News

मेलम्चीको पानी काठमाडौंमा औपचारिक रुपमा वितरण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १९:१४
मेलम्चीको पानी काठमाडौंमा औपचारिक रुपमा वितरण शुरु (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । मेलम्चीको पानीको काठमाण्डौमा औपचारिक रुपमा वितरण शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम‍ उद्घाटन गर्नुभयो ।

केही दिन अगाडिदेखि नै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा परीक्षणको रूपमा आयोजनाबाट पानी पठाउन थालिएको थियो। भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुंगेधारा निर्माण गरिएको हो । भृकुटीमण्डपमा रहेको सार्वजनिक ढुंगेधाराको पानी आमनागरिकले प्रयोग गर्न पाउनेछन् ।

उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले केपी शर्मा ओली सरकारको दृढ इच्छा शक्तिका कारण वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेको बताउनुभयो ।

प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिबद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको भन्दै राष्ट्रपति भण्डारीले भट्टराईको सम्झना गर्नुभयो ।

गत आइतबारदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भए पनि उदघाटन भने आज गरिएको हो । महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी वितरण भइरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अनामनगरको ८ सय घरमा भने परिक्षणका रुपमा २४ सै घण्टा पानी वितरण गरिरहेको छ ।

आज बिहानदेखि बालाजु(सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको लिमिटेडले जनाएको छ । एक महिनासम्म पुरानो पाईपमा पानी पठाएपछि बैशाख १५ पछि नयाँ पाइपलाइनमा पठाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *