Main News

काठमाडौं-तराई द्रुत मार्ग निर्माणः सेनाको नियतमाथि प्रश्नै प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १९ गते २०:३७
काठमाडौं-तराई द्रुत मार्ग निर्माणः सेनाको नियतमाथि प्रश्नै प्रश्न (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । सांसदहरुले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुत मार्गमा सुरुङ तथा पुल निर्माणको ठेक्का प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरुले यसमा छानबिन आवस्यक रहेको समेत बताएका छन् ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले ठेक्काको पूर्वयोग्यता निर्धारण गरेर ठेकेदार छनोट गर्ने प्रक्रियामा अनियमितता भएको आशंका गरेका हुन् ।

जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले सरकारले नै नेपाली सेनालाई निर्माणको जिम्मा दिएर ठेकेदार बनाई विवादमा ल्याउने काम गरेको बताउनुभयो । उहाँले प्रि(क्वालिफिकेसन छनोट गर्दा सार्वजनिक खरिद ऐन विपरित काम भएको भन्दै उपसमिति बनाएर अध्ययन गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले द्रुत मार्ग निर्माणको क्रममा ठेकेदार छनोटको विषयमा थप अध्ययन आवश्यक भएको तर उपसमिति बनाउनपर्ने अवस्था नरहेको बताउनुभयो ।

कांग्रेसकै अर्का सांसद राजेन्द्रकुमार केसीले एउटा मात्रै ठेकेदार छनोट हुँदा आशंका उब्जिएकाले नेपाली सेनाले नै स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

समिति सभापति भरतकुमार शाहले ठेकेदार छनोट गर्दा कम्तिमा ३ वटा कम्पनी प्रतिस्पर्धामा ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । सेनाले विना प्रतिस्पर्धा एउटा मात्रै कम्पनी छनोट गरेकाले कानूनी त्रुटि भएको भन्दै उहाँले थप अध्ययन गर्नुपर्ने बताउनुभयो ।

सांसदको प्रश्नको जवाफ दिने क्रममा रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डेले छनोट प्रक्रियामा आउन नचाहने तर काम गर्न पनि नदिने ठेकेदारले नेपाली सेनालाई विवादमा पारेको दाबी गर्नुभयो ।

लेखा समितिले नेपाली सेनालाई ईपिसिको निर्देशिका नबन्दै किन प्रक्रिया थालेको, खरिद अनुगमन कार्यालयसँग किन परामर्श नगरेको, एउटै काममा पनि फरक फरक प्याकेज किन बनाएको, पहिलो प्याकेजमा पास भएको ठेकेदार कम्पनी दोस्रोमा फेल हुनुको कारण के हो जस्ता प्रश्न गरेको छ ।

समितिले क्षमता परीक्षणका लागि नै कठिन मापदण्ड बनाएको, परीक्षणको आवेदनलाई नै बोलपत्र सरह मानि मुल्याङ्कन गरिएको, छनोट प्रक्रियामा खरिद ऐन मिचिएको ठहर समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *