नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहन्छौंः नेता नेपाल (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको बताउनु भएको छ ।
आज काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफू लागेको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने संकल्प समेत गर्नुभयो ।
त्यसका लागि देशभरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘हामी आन्दोलनलाई नयाँ उचाईमा नयाँ शिराबाट उठाउन चाहन्छौं । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहिरहेका छौं र हाम्रो सङ्कल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धरासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौं । यो हाम्रो सङ्कल्प हो । यो सङ्कल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिष्ट आन्दोलनका योद्धाहरु, नेपाल कम्युनिष्ट पार्टी एमालेका योद्धाहरु चैत्र ४ र ५ गतेका दिनमा भेला हुनुभएको छ । साढे चार हजारदेखि ५ हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ की हामी कम्युनिष्ट पार्टीको एकताको पक्षमा छौं, कम्युनिष्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरुप दिने पक्षमा छौं र हामी आम जनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’
आफूहरुको विचार मार्क्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताउनुभयो । आफूहरु सामाजिक न्यायसहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको बताउनुभयो ।
विचार, सङ्गठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पार्नुभएको छ ।
प्रतिक्रिया