Main News

महोत्तरीबाट हराएका भनिएका सातै जना किशोरी भारतमा फेला परे

हिमालय टिभी
२०७७ चैत १८ गते १२:४१
महोत्तरीबाट हराएका भनिएका सातै जना किशोरी भारतमा फेला परे

१८ चैत २०७७ महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना आज फेला परेका छन् ।

मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई प्रहरीले सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट उद्धार गरेको हो ।

सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतीय प्रहरीको सहयोग र समन्वयमा सातै जनालाई उद्धार गरी फर्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

घाँस काट्न गएदेखि आज सीतामढीको रेल्वे स्टेशनमा भेटिनुअघि सम्मको कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्ष सम्मका सात बालिका सम्पर्कविहीन भएका थिए । दिउँसो घाँस काट्न गएका घर नफर्केपछि धर्मपुरमा कोलाहल मच्चिएको थियो ।

घाँस काट्न समूहमा निस्केका १० वर्षीया रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र रचना पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान आज सीतामढीमा फेला परेका हुन् । सातै जनालाई आजै परिवारजनको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *