राजनीति

देशभर पुरानै कमिटी क्रियाशील बनाउने एमालेको नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १७ गते १७:०५
देशभर पुरानै कमिटी क्रियाशील बनाउने एमालेको नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको निष्कर्ष निकालेको छ । यो समूहले देशभर पुराना कमिटी क्रियाशील बनाउने निर्णय पनि गरेको छ ।

स्थायी समितिका सदस्यहरुको बैठकले ओलीमाथि गम्भीर आरोप लगाएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षका ११ जना स्थायी समिति सदस्यले संयुक्त वक्तव्य निकालेर त्यसको प्रतिवाद गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओली पुनर्स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको आरोप लगाइएको छ ।

ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास गरेको नेपाल–खनाल पक्षको आरोप छ । पार्टी विभाजन गर्ने दुराशयका साथ नेपाल र रावललाई कारवाही गरिएको यो समूहको ठहर छ ।

ओलीको पछिल्लो कदमले पार्टी झन विभाजित र अन्यौल बनाएको भन्दै नेपाल खनाल समूहले त्यसका विरुद्ध उत्रिने निर्णय गर्दै नवौं महाधिवेशनपछि सबै कमिटी ब्यूँताएर अघि बढ्ने निर्णय गरेको छ । ओलीले पार्टी फुटाउन खोजेको भन्दै अलग रुपमा जान पनि यो समूह तयार भएको छ ।

विधि र प्रक्रियागत ढंगले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन गरेको आग्रहविपरीत ओलीले स्वेच्छाचारी कदम चालेको नेपालखनाल पक्षको ठहर छ । संयुक्त विज्ञप्तिमा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाएको पनि आरोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्