Main News

नेपाल र बंगलादेशबीचको फूटबल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

हिमालय टिभी
२०७७ चैत १६ गते १५:१६
नेपाल र बंगलादेशबीचको फूटबल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

१६ चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फूटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच हुने प्रतिष्पर्धा हेर्न प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला जानु हुने भएको छ।

खेल त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ साढे पाँच बजे शुरु हुनेछ । खेलमा नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जानु हुने भएको छ ।

आजको उपाधि विजेताले ५ हजार डलर पुरस्कार पाउनेछ । यस्तै उप विजेताले दुई हजार पाँच सय डलर प्राप्त गर्नेछ । आजको खेललाई पनि फिफाले मान्यता दिएको छ । यसले विश्व वरियतामा प्रभाव पर्नेछ । लीग चरणका दुबै खेलमा गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको थियो ।

बंगलादेशले भने एकमा जीत र अर्को खेल बराबरी खेलेको थियो । यी दुईबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जित्दा नेपालले ६ खेल मात्रै आफ्नो पक्षमा पारेको छ ।

त्यस्तै ४ खेल बराबरीमा सकिएको छ । पछिल्लो ६ भेटमा नेपालले बंगलादेशसँग १ खेलमा जित निकाल्दा ३ मा बराबरी र २ खेलमा हार व्यहोरेको छ । पछिल्लो पटक नेपालले ढाका साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएको थियो ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले फाइनल खेलमा गोल गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए। नेपालले पछिल्ला सातवटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । त्यस्तै बंगलादेशका प्रशिक्षक जेम्स डेले घरेलु टोली नेपालविरुद्धको फाइनल प्रतिस्पर्धात्मक हुने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *