होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन बालबालिका घाइते
१६ चैत २०७७ काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा दुग्ध डेरीमा राखेको एसिड छ्याप्दा तीनजना बालबालिका घाइते भएका छन् ।
शंखरापुर नगरपालिका(१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी अश्मिता तामाङ्ग, ११ वर्षका सविन तामाङ्ग र ९ वर्षका विशाल तामाङ घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो ।
उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो ।
होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी भनेर ग्यालिनमा भएको एसिड छ्यापेका थिए । डेरी सञ्चालक केशव नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएर बौद्धमा राखिएको छ।
प्रतिक्रिया