चीनले उपलव्ध गराउने कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै

१६ चैत २०७७ काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराउने कोरोना भाइरस विरुद्धको खोप आज नेपाल आइपुग्दैछ।
नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत् उक्त खोप नेपाल ल्याउन लागिएको हो । आज नेपाल आइपुग्ने उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले सङ्केत गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारी गरिएको छ । तर नेपालमा उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चीनबाट आठ लाख मात्रा (डोज) खोप नेपाल आउँदैछ। चिनियाँ दूतावासले पनि फेसबुकमा तस्बिर राख्दै आठ लाख मात्रा खोप नेपाल ल्याउनका लागि बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जनाएको थियो।
नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्ने अधिकारीहरूले बताएका छन् ।
यसअघि भारतीय अनुदानमा भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ। सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ।
प्रतिक्रिया