राजनीति

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, तोडियो संवादहीनता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते २१:०२
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, तोडियो संवादहीनता (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाबीच सात महिनापछि भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख सापकोटाले लामो समयदेखिको संवादहीनता तोड्नुभएको हो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बिहान ११ झण्डै दुई घण्टा छलफल भएको छ । संवादहीनताको अन्त्यले संसदको प्रभावकारी संचालनमा सहयोग पुग्ने आशा बढेको छ ।

राज्यका महत्वपूर्ण दुई अंग व्यवस्थापिका र कार्यपालिकाबीचको संवाद भैरहनुपर्ने हो । तर दुई संस्थाका प्रमुखबीच यो भेट हुन सात महिना लाग्यो । प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच पछिल्लो पटक गत भदौ दोस्रो साता भेट भएको थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक परिषद्को बैठकसमेत एकलौटी ढंगले चलाएपछि व्यवस्थापिका–कार्यपालिका टकराव देखिएको थियो । प्रधानमन्त्री ओली र सभामुखबीच तीक्तता यसरी बढ्यो कि दुवै जना बोलचाल र भेटघाट बन्द गरेर एक अर्काका विरुद्ध सार्वजनिक समारोहमै आलोचनामा उत्रिनुभयो ।

सभामुखले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै अदातल जानुभयो भयो र संवधानिक परिषदका बैठक बहिस्कार गर्नुभयो । कारण प्रधानमन्त्री रहस्य मय काम गर्दै हुनुहुन्छ भन्ने उहाँको बुझाई थियो ।

सभामुख सापकोटा भन्दा बढी आक्रामक प्रधानमन्त्री देखिनुभएको थियो । सभामुखलाई झगडियादेखि कीर्ते भन्नसमेत प्रधानमन्त्रीले बाँकी राख्नुभएन ।

प्रतिनिधिसभा पूनस्थापना नहुँदासम्म कार्यपालिका र व्यवस्थापिकाका प्रमुखबीच आरोप प्रत्यारोप चल्यो ।

प्रतिनिधिसभा पूनस्थापनाभएपछि सम्बन्ध सुध्रिने अनुमान थियो । तर त्यस्तो भएन, पूनस्थापनको पक्षमा रहेका सभामुख र पूनस्थापना मन नपराएका प्रधानमन्त्रीबीच संवाद हुन सकेन । पुनस्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक बसेको फागुन २३ गते सदन पुगेका प्रधानमन्त्री ओली बेलैमा बैठक शुरु नगरेको भनेर बैठक शुरु नहुँदै निस्किनुभयो ।

दोस्रो बैठकमा पनि उहाँले त्यस्तै गर्नुभयो । सरकार र सत्तारुढ दलका नेताहरुले सभामुखको आलोचना गरे । सम्बन्ध राम्रो नहुँदा संसद प्रभावित भयो । संसद कामविहीन अवस्थामा छ । त्यही कारण सभामुखले विशेष र शून्य समय चलाएर संसद् चलाईरहनुभएको छ । संसद र सरकारको दुरी बढेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटका लागि समय माग्नुभयो । तर सहजै बालुवाटारमा समय मिलेन ।

प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नै चाहिरहेका बेला आज भेटवार्ता भएको छ । टकरावले दुई संस्थाको मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकै भविष्यमा प्रश्न उठ्न थालेपछि सभामुखले बालुवाटार पुगेरै संवाद हीनता तोड्नुभएको छ ।

दुई संस्थाका प्रमुखबीच संसदको भूमिका प्रभावकारी बनाउने, महत्वपूर्ण र आवश्यक विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । आजको छलफलपछि संसदले काम पाउने र भूमिका देखिने आशा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्