Main News

मेलम्चीको पानी आफ्नो धारा आएपछिको खुसी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते २०:३४
मेलम्चीको पानी आफ्नो धारा आएपछिको खुसी (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । वर्षौको प्रतिक्षापछि, काठमाडौंका धारामा मेलम्चीको पानी झरेको छ । मेलम्चीको पानी आफ्नो घरको धारामा आएसँगै काठमाडौंका बासिन्दा हर्षित छन् ।

सुन्दरीजलमा प्रशोधन भएर आएको पानी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले महांकालको मुख्य वितरण ट्याङ्कीमा जम्मा गरेको थियो । जुन पानी यसरी भल्ब खोलेर महांकाल, खुमलटार, मीनभवन र अनामनगरमा रहेका ओभर हेड ट्यांकीमा पठाइयो । यी ओभरहेड ट्याङ्कीमार्फत मेलम्चीको पानी घर घरमा पुगेको छ ।

मेलम्चीको पानी आज जयबागेश्वरी, चाबहिल, बत्तिस पुतली, देवकोटा सडक, कालोपुल, एयरपोर्ट हाइट लगायतका ठाउँका बासिन्दाको घर घरमा पुगेको छ । वर्षौदेखिको प्रयासपछि मेलम्चीको पानी पाउँदा काठमाडौं‌का बासिन्दामा खुसीको सीमा नै छैन ।

पानी आएको पहिलो दिन नै ट्याङ्की र भाँडा भर्न मात्र हैन, उनीहरुले रमाइ रमाइ हात मुख धुन र नुहाइ धुहाइ गरे ।

वर्षौदेखि काठमाडौं काकाकुल बनेको थियो । हप्तामा एक दिन मध्य रातमा आउने पानी भर्न निन्द्रा नै माया मार्नु पर्थ्यो । अब त पानीका लागि मध्यरातमा उठ्नु पर्दैन ।

मेलम्चीबाट काठमाडौंमा पानी ल्याउने योजना त २०४१ सालमै बनेको थियो । २०४६ सालमा बहुदल आएसँगै अन्तरिम सरकारको नेतृत्व गरेका कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेपछि यो आयोजनाले धेरै चर्चा पायो ।

अहिले मेलम्चीको पानी पाउने झन्डै आधामान्छे त्यतिबेला जन्मिएकै थिएनन् । त्यतिबेला स्कुले उमेरमा मेलम्चीको पानी आउने सुनेकाहरुले बल्ल पानी पाए । पानी पाएको खुसीमा उनीहरु भोजको तयारीमा छन् ।

पानीका लागि काकाकुल बनेका उपत्यकाका बासिन्दाको मेलम्चीको पानी आउँछ, र खान पाइन्छ भन्ने सपना पूरा भएको छ । अब सधै धारामा पानी आओस् भन्ने चाहाना उनीहरुको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *