Main News

यस्तो रह्यो काठमाडौंको होली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते २०:२९
यस्तो रह्यो काठमाडौंको होली (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज कामाडौं उपत्याकासहित हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । भोलि तराईका जिल्लामा होली मनाइने छ ।

कोरोना संक्रमणको जोखिमका कारण सरकारले पोहोर जस्तै यसपाली पनि होलीमा भिडभाड नगर्न आग्रह गरेको थियो । जसका कारण दुई चार वर्षअघिको जस्तो ठूलो भिड र सांगितिक कार्यक्रम भएन । तर पनि ठाउँ ठाउँ युवा युवतीले भेला भएर होली मनाए ।

रंगहरुको पर्व होलीमा एकापसमा रंग दलेर शुभकामना साटासाट गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भभावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ ।

कोरोना संक्रमणको त्रासका कारण पहिले जस्तो नभए पनि यो पटक पनि कतिपयले सडकमै निस्केर होली मनाए । सरकारले घरमै बसेर होली मनाउन आग्रह गरेको थियो । तर काठमाण्डौ उपत्यका लगायत कतिपय ठाउँमा यूवा युवती तथा केटाकेटी सडकमै निस्किए ।

उनीहरुले कोरोना संक्रमणको त्रासका कारण सावधानी अपनाउँदै होली खेलेर रमाइलो गरे । उनीहरुले यसो भनेपिन वसन्तपुरमा ठूलो भिड थियो ।

शुरुमा प्रहरीले भीड नगर्न आग्रह गरे पनि पछि वसन्तपुरमा भिड भयो । भीड दुई चार वर्षअघिको जस्तो ठूलो नभए पनि यहाँ कोरोनाको त्रास देखिएन ।

गत आइतबार वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको मानिन्छ । त्यो चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ आजै टुँडिखेलमा लगी जलाइन्छ । चीरमा राखिएका ध्वजापताका औषधि उपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

यो सांस्कृतिक र ऐतिहासिक किंवदन्तीका कारण पनि वसन्तपुरमा भिड लाग्यो ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।आज पहाडमा मनाइएको होली भोलि तराई मधेशमा होली मनाईन्छ । तर चाड पर्व मनाउँदा रोगको परवाह नगरिनु राम्रो होईन, त्यसैले यसमा सबैले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *