Main News

भारतमा कोरोना बढेसँगै स्वदेश फर्कने नेपाली बढे, सीमा नाकामा यस्तो कडाइ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते १६:३६
भारतमा कोरोना बढेसँगै स्वदेश फर्कने नेपाली बढे, सीमा नाकामा यस्तो कडाइ (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ बाँके । भारतमा कोरोना संक्रमण बढेपछि स्वदेश फर्कने नेपालीको संख्या बढ्न थालेको छ । पछिल्ला दिन बाँकेको रुपैडिया नाका हुँदै दैनिक करिब एक हजारको संख्यामा नेपाली आइरहेका छन् । यसरी आइरहेकामध्ये कोरोना संक्रमणको आशंका गरिएकालाई स्वास्थ्य जाँच गर्न थालिएको छ ।

भारतबाट जमुनाहा नाका हुँदै प्रवेश गर्नेलाई सीमामा खटिएका सुरक्षाकर्मीले सोधपुछपछि हेल्थ डेक्स पुर्‍याउछन् । हेल्थ डेक्समा स्वास्थ्यकर्मीले एन्टिजिन परिक्षण गर्ने गरेका छन् । कोरोनासँग मिल्दो जुल्दो लक्षण भएकाको परीक्षण गर्दा केहीमा संक्रमण देखिन थालेको छ ।

भारतबाट आउने सबैको परिक्षण सम्भव नभएकाले शंकास्पद व्यक्तिको मात्रै एन्टिजिन परीक्षण गर्ने गरिएको छ । संक्रमण देखिएका व्यक्तिलाई होम आइशोलेशनमा बस्ने गरी एम्बुलेन्समा राखेर सम्बन्धित व्यक्तिको घरसम्म पुग्ने प्रबन्ध मिलाइएको छ ।

स्वास्थ्य उपचारसहितका अत्यावश्यक काम बाहेक सामान्य किनमेलका लागि दैनिक सिमावर्ती बजार जान रोक लगाइएको छ । भारतमा रोजगारी भएका नेपाली परिचय पत्र देखाएर जोखिमै मोलेर भए पनि गइरहेका छन् ।

पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर शुरु भएपछि स्वदेश फर्कने नेपालीको संख्या बढेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँके जिल्लाका आठ वटै स्थानीय तहमा क्वारन्टिन र आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्ने, जनस्वास्थ्यका मापदण्ड पालनाका लागि समुदाय तहमा ब्यापक प्रचारप्रसार र चेतनामुलक सन्देश प्रवाह गर्ने जस्ता काम सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *